images

कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हावादारी कुरा होः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन्।

आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री थापाले लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हावादारी कुरा भएको बताएका हुन्।

‘संसदमा गृहमन्त्रीको प्रयास संसदलाई बहकाउने, तपाईंहरुलाई बहकाउने र देशको नागरिकलाई बहकाउने। आफ्नो मूल विषयबाट बहकाउने। उहाँले पटक–पटक प्रधानमन्त्रीको विषय उठाउनु भयो। नेपाली कांग्रेस पार्टीको तर्फबाट हामीले पटक–पटक भनिसक्यौँ, यो हावादारी कुरा हो भनेर,’ उनले भने।

यस्तै, महामन्त्री थापाले लामिछानेले आफूमाथिको सहकारी ठगी प्रकरणको विषयमा लचकता अपनाइदिन आग्रह गर्दै स्वर्णिम वाग्लेलाई कांग्रेस नेताका घरघरमा पठाएको दाबी गरे।

उनले भने,’उहाँलाई एउटा कुरा के स्मरण गराउँ भने दुई दिनअगाडि एकजना पूर्व नेपाली कांग्रेसको सदस्यलाई हाम्रो पार्टीको नेताहरुको घरघरमा डेमोक्र्याटिक अलाएन्स बनाउन म तयार छु तर अलिकति यो टीओआरमा थोरै लचकता अपनाइदिनुपर्‍यो भनेर भन्न पठाउनु भएको थियो।’

आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा गृहमन्त्रीसमेत रहेका लामिछानले कांग्रेसले आफूलाई प्रधानमन्त्री पदका लागि अफर गरेको दाबी गरेका थिए।