काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको पुष्टि भएको बताएको छ ।
बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बसेको कांग्रेस संसदीय दल बैठकले लामिछाने सहकारी ठग नै भएको निस्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको बटमलाइन भएको जानकारी दिए ।
लेखकले लामिछानेले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति बैठकले घोर निन्दा र भत्सना गरेको बताए ।
बैठकले लामिछानेको गैरजिम्मेवार अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । ‘रवि लामिछानेजीले प्रतिनिधिसभामा जे कुराहरु बोल्नुभएको छ । उहाँ असभ्य, असत्य, भ्रामक, झुठा, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत हुनुभएको छ,’ लेखकले भने,’उपप्रधान र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको मानिसले अरु मानिकसका बारेमा प्रश्न गर्ने होइन, आफूमाथि उठेका विषयमा जवाफ दिने हो ।’
लेखकले लामिछानेले आफूमाथि लागेको आरोपबारे जवाफ दिनुको साटो अरु मानिसहरुका बारेमा तथाकथित विषय उठाएर अभियोगबाट भाग्ने कोसिस गरेको निस्कर्ष काँग्रेसको रहेको जानकारी दिए ।
उनले लामिछानेले दाबीगरेजस्तो सहकारी ठगी समाचारमा आएको विषय मात्र नभई प्रहरी अनुसन्धान र जिल्ला अदालतको अभियोपत्रमा उल्लेख भएको विषय रहेको बताए ।
यस्तै, कांग्रेसले आफ्नो दलका नेता लक्षित लामिछानेको आरोपबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न खुला रहेको पनि निर्णय गरेको छ ।