images

नेपाल-चीन सम्बन्धलाई विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरिनुपर्छ : प्रवक्ता लावती

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले नेपाल-चीन सम्बन्धलाई विश्व भूराजनीति, बहुध्रुवीय शक्ति सन्तुलनलाई ध्यानमा राखेर व्याख्या र विश्लेषण गर्नु उपयुक्त हुने बताएका छन्।

‘बहुध्रुव भएको हालको विश्व परिवेशमा चीन शक्ति राष्ट्रको रुपमा उदयीमान छ। यस सन्दर्भलाई ध्यान दिएर नेपाल-चीन द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुपर्छ,’ राप्रपाको अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुखसमेत रहेका लावतीले भने।

राजनीतिक, आर्थिक, सुरक्षा र नेपाल दुई ढुंगाबीचको तरुल भन्ने दर्शनलगायत चार आधार आत्मसात गरेर दुई छिमेकी बीचको मित्रवत र कूटनीतिक सम्बन्ध अघि बढाउनु पर्नेमा उनको जोड थियो।

कूटनीतिक सम्बन्ध स्थापना भएयताको नेपाल-चीन सम्बन्ध समीक्षा गर्ने, सुदृढ भविष्यतर्फ एकसाथ अघि बढ्ने विषयमा काठमाडौँमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै राप्रपा प्रवक्ता लावतीले उक्त धारणा प्रस्तुत गरेका हुन्।

‘चीन र भारत विश्व शक्ति राष्ट्रको रुपमा उदीयमान छन्। यस सन्दर्भमा नेपाल दुई ढुंगाबीचको तरुल भन्ने पृथ्वीनारायण शाहको दिव्यवाणी आज पनि उत्तिकै सान्दर्भिक छ‚’ उनले भने‚ ‘यस मानेमा नेपालले, विशेष गरेर नेपालका राजनीतिक दलहरुले यस सवंदेनशीलता सम्बोधन गर्दै आपसी सम्मान, हित र कूटनीतिक मयार्दाका हकमा एकरुपता ल्याउनु जरुरी छ।’

‘नेपाल र चीनबीच १४ सय किलोमीटर लामो सिमाना छ। नेपाल-चीनको नजिकको छिमेकी भएको कारण, नेपालको राजनीतिक स्थायित्वले निश्चित रुपमा नेपाल-चीन सम्बन्धमा सकारात्मक प्रभाव पार्छ,’ उनले भने।

सरकार सदैव एक चीन नीतिको पक्षपाती रहँदै आएको र राप्रपा पनि यही मान्यतामा अभ्यस्त रहेको उनले बताए।

अन्य मित्रवत देशहरु जस्तै चीनलाई नेपालमा लगानी र व्यापार गर्न उपयुक्त वातावरण निर्माण गर्नुपर्ने, यसबाट व्यापार असन्तुलन सम्बोधन हुने र आर्थिक प्रगतिको संभावनाका ढोका खुल्ने उनले बताए।