काठमाडौँ- सत्तारुढ दल (एकीकृत समाजवादी) नेकपा एसकी सचिव रामकुमारी झाक्री प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पक्षमा अभिव्यक्ति दिएकी छन्। झाक्री पछिल्लो राजनीतिक गतिविधिमा केन्द्रित रहेर थापाको समर्थनमा सामाजिक सञ्जालमार्फत देखिएकी हुन्।
गृहमन्त्री रवि लामिछाने र कांग्रेस महामन्त्री थापाबीच विभिन्न प्रकरण र त्यसमाथि अनुसन्धान गर्नुपर्ने भनेर आरोप,प्रत्यारोप चलिरहेको बेला सत्तारुढ दलकै जिम्मेवार नेतृ झाक्रीले ट्विटरमा लेखेकी छन्,‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीति आइकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो। गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस्!’
झाक्री हाल सांसद छैनन्। उनि आवद्ध दल नेकपा एसबाट प्रतिनिधिसभामा १० सांसद छन्। नेकपा एसका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई सदनमा विश्वासको मत दिएका छन्।
आइतबार संसद बैठकमा बोल्ने क्रममा गृहमन्त्री लामिछानले कांग्रेसका थापासहित अन्य नेता पनि विभिन्न प्रकरणमा मुछिएको र संसदीय समिति बनाएर उनिहरुको पनि व्यक्तिपिच्छे अनुसन्धान गर्ने हो भने आफू पनि अनुसन्धानको घेरामा आउन तयार रहेको भनेर चेतावनी दिएका थिए।
रविको उक्त चेतावनीपछि कांग्रेस महान्त्री थापाले आइतबार अवेर पत्रकारसम्मेलन गरेर रवि मुछिएको सहकारी प्रकरणका प्रमाणका कागजात प्रस्तुत गरेका थिए।