काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज बस्ने भएको छ ।
बैठक कानुन मन्त्रालयमा बिहान ९ बजे सुरु हुनेछ । यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन ।
सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।
नेपाली कांग्रेसले समिति बनाउँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनका दल यस कुरामा असहमत छन् ।
नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित चार सदस्यीय कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।