काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१ वैशाख मसान्तसम्म नेपालको आयात, निर्यात र व्यापार घाटामा सङ्कुचन आएको छ ।
यो अवधिमा नेपालले कुल १३ खर्ब तीन अर्ब ३५ करोड रूपैयाँको वस्तु आयात गरेको छ । जुन २०८० वैशाखको तुलनामा २.३९ प्रतिशत कम हो । उक्त अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड रूपैयाँको वस्तु आयात गरेको थियो ।
वैशाख मसान्तसम्म नेपालले एक खर्ब २६ अर्ब १ठ करोड रूपैयाँको वस्तु निर्यात गरेको छ । जुन गत वर्षको वैशाखको तुलनामा ३.६१ प्रतिशत कम हो । अघिल्लो वैशाखसम्म नेपालले एक खर्ब ३० अर्ब ९० करोड रूपैयाँको वस्तु निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षमा मुलुकको निकासी क्षेत्र झन् कमजोर बनेको छ । आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म १ खर्ब २६ अर्बको मात्र निर्यात भएको हो । अघिल्लो आवमै गिरावट देखिएको निकासी व्यापारमा चालु आवमा सुधार आउन नसकेको मात्र नभई झन् घटेको छ ।
आयात र निर्यात घटेजस्तै नेपालको अन्तर्राष्ट्रिय व्यापार पनि घटेको छ । विदेशी मुद्रा सञ्चितिमा सुधारसँगै सरकारले आयात प्रतिबन्ध हटाउनुका साथै राष्ट्र बैंकले पनि मौद्रिक नीतिलाई लचिलो बनाउँदै लगेको छ । यसैगरी बैंकिङ प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंकको ब्याजदर पनि घट्दै गएको छ । तर, बजारमा माग घट्दा वैदेशिक व्यापारमा सुधार हुन सकेको छैन । राष्ट्रिय तथ्याङ्क कार्यालयले उत्पादनमूलक उद्योग तथा निर्माण क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमा नकारात्मक रहने र व्यापार क्षेत्रमा पनि सामान्य वृद्धि हुने अनुमान गरेको छ ।
वैशाखसम्म नेपालले कुल १४ खर्ब २९ अर्ब ५३ करोड रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार गरेको तथ्याङ्कले देखाएको छ । जबकि अघिल्लो वैशाखसम्म अन्तर्राष्ट्रिय व्यापारको आकार १४ खर्ब ६६ अर्ब २२ करोड रूपैयाँ थियो । व्यापार घटेसँगै नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वैशाखमा यस्तो घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रूपैयाँ रहेको थियो । यो भनेको अझै पनि नेपालको व्यापार घाटा २७ अर्ब २३ करोड ८९ लाख रूपैयाँ रहेको छ ।
आयातको तुलनामा निर्यात स्थिति कमजोर भएपछि सरकारले यसलाई बढाउन सकेको छैन । नेपालले सबैभन्दा ठूलो व्यापार घाटा भएको भारतसँग अझै पनि सन्तुलन कायम गर्न सकेको छैन । यो सगै जलविद्युत् निकासीलाई पहिलो प्राथामिकता दिनुपर्छ । जवसम्म नेपालले बिजुली उत्पादन गरेर भारत निकासी गर्न सक्दैन तवसम्म ब्यापार घाटा कम हुन सक्ने अवस्था देखिदैन । यसमा जति विलम्ब गरिन्छ, मुलुकमा त्यतिनै परनिर्भरता र आर्थिक जोखिम बढन गई ब्यापार घाटा अझ बढन सक्छ । यस्तो अवस्थामा सरकारले योजनाबद्व आर्थिक विकासको कार्यलाई अघि बढाउनु पर्ने देखिएको छ । कृर्षिमा परनिर्भरता कम गर्न कृर्षि क्षेत्रलाई यान्त्रिकीकरण गर्नुपर्ने खाँचो देखिएको छ ।
यो अवधिमा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थकै आयात गरेको छ । डिजेल मात्रै एक खर्ब १५ अर्ब ६७ करोडको आयात भएको छ । पेट्रोल ५६ अर्ब ८० करोड, एलपी ग्यास ४६ अर्ब, फलाम ३१ अर्ब, स्वास्थ्य सामग्री २१ अर्ब २४ करोड र २० अर्ब ७६ करोडको सुन आयात भएको छ । नेपालले निर्यात गर्ने वस्तुमा ८ अर्ब ७९ करोडको गलैँचा, ६ अर्ब ९१ करोडको अलैँची, साढे ५ अर्बको छड, पाँँच अर्ब ६० करोडको पाम तेल र ५ अर्ब ११ करोडको जुस निर्यात भएको छ ।
कृषि प्रधान भनिएको देश पनि खाद्यान्नमा परनिर्भर रहेको कारण १० महिनामा २४ अर्बको धान, मकै र गहँ आयात भएको छ । खाद्यान्नमा सबैभन्दा बढी भारतबाट आयात भएको देखिन्छ । यो अवधिमा १० अर्ब ८६ करोडको धान, १० अर्ब ३१ करोडको मकै र २ अर्ब ७३ करोडको गहुँ आयात भएको छ । यो रकम ०७९÷८० को १० महिनाको तुलनामा ७ अर्ब २८ करोडले कमी भए पनि अझै पनि अर्बौं रूपैयाँको आयात भइरहेको तथ्याङ्कले देखाएको छ । तेलहन व्यापार पनि आयातमै निर्भर रहेको छ । तेस्रो मुलुकबाट कच्चा पदार्थका रूपमा आयात हुने भटमास, सनफ्लावरको तेलले मात्रै नेपालको माग धानेको छ । तरकारी र फलफूलमा पनि विदेसिकै भर पर्नु परेको तथ्याङ्कले देखाएको छ ।
भारतसँग ७ खर्ब २९ अर्ब घाटा
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग वैशाखसम्म नेपालले ७ खर्ब २९ अर्ब रूपैयाँ व्यापार घाटा व्यहोरेको छ । भारतबाट ८ खर्ब १५ अर्बको वस्तु आयात गर्दा ८६ अर्ब २ करोड रूपैयाँको निकासी गरेको छ । दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगको व्यापार घाटा २ खर्ब ३८ अर्ब पुगेको छ । चीनबाट २ खर्ब ४० अर्बको सामान आयात हुँदा निकासी भने २ अर्ब २७ करोडमा सीमित छ ।
चालु आर्थिक वर्षको सुरूदेखि नै नेपालले अमेरिकासँगको व्यापारमा नाफा कमाए पनि फागुनबाट सुरू भएको घाटा झन् फराकिलो बन्दै गएको छ । वैशाखसम्म अमेरिकाबाट १६ अर्ब ५३ करोडको आयात भएकोमा १४ अर्ब २ करोडको निर्यात भएको तथ्याङ्कले देखाएको छ । अमेरिकासँग १० महिनामा २ अर्ब ५१ करोड व्यापार घाटा भइसकेको छ । यसअघि फागुनसम्मको व्यापारमा नेपालले अमेरिकासँग ८० करोड ३६ लाख घाटा व्यहोरेको थियो भने चैतमा १ अर्ब २० करोड थपिएर २ अर्ब ४० लाख रूपैयाँ पुगेको थियो ।