images

कांग्रेसको आरोपः संसदलाई ब्यारेकजस्तो बनाइयो

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको छ।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको हो।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेसका सांसदहरुले सत्ताले संसदलाई ब्यारेक बनाएको बताएका हुन्। उनीहरुले संसदलाई ब्यारेकजस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा बैठक सञ्चालन गरेको पनि बताएका छन्।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदमा बल प्रयोग गरेर लोकतन्त्रका मुलभूत मूल्य र मान्यतामाथि प्रहार गरिएको बताए। उनले सत्तापक्षबाट संविधान र संघीय शासन प्रणालीमाथि नै धावा बोल्ने काम भएको जिकिर गरे। उनले प्रतिपक्ष दलको अवरोध भइरहँदा संसद बैठक सञ्चालन हुनु भर्त्सनायोग्य भएको भन्दै सरकारको यस कदमको प्रतिरोध गरिने बताए।

उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको प्रस्ताव संसदमा नआएसम्म आफूहरुको अवरोध जारी रहने पनि बताए। सांसद पाण्डेले गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० संसदबाट फिर्ता लिनुको आशय दलहरु फुटाउनलाई सहजता प्रदान गर्नु रहेको उल्लेख गरे।

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सभामुखले संसदलाई ब्यारेकजस्तो बनाएर आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती बैठक सञ्चालन गरेको बताए। उनले संसदीय छानबिन समिति बनाउने कुरामा अलमल गरेर एमाले अध्यक्ष केपी ओलीले खेल खेलिरहेको बताए। उनले अवरोधका बीच संसद बैठक चलाउनुले संसदीय परम्परामाथि कालो धब्बा लागेको पनि बताए।

नेपाली कांग्रेसकै सांसद रामहरी खतिवडाले संसद बैठकमा सभामुखको कामप्रति नेपाली कांग्रेसको विरोध रहेको बताए। उनले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिएर अध्यादेश ल्याई पार्टीहरु फुटाउनेतिर लाग्न लागेको आरोप लगाए।

नेपाली कांग्रेसकी सांसद कल्पना चौधरीले संसद बैठकस्थलमा मर्यादापालकहरुले सांसदहरुलाई अमर्यादित व्यवहार गरेका बताइन्। उनले मर्यादापालकहरुको संख्या बढाएर कांग्रेसका सांसदहरुमाथि आक्रमण गर्न लगाइएको आरोप लगाइन्।