images

सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी जरुरी छैन: प्रधानमन्त्री दाहाल

‘गृहमन्त्री व्यक्तिगत रूपमै प्रतिशोधमा उत्रिनुभयो भन्ने छ नि’ भन्ने  प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।’

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाटै पक्राउ परेको बताएका छन् । प्रधानमन्त्री दाहालले सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधिएको समेत बताएका छन् ।

‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताएका हुन् । ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,’ उनले भने । ‘सरकारले रिसइबी साध्यो भन्ने छ नि’ पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ? ‘

‘गृहमन्त्री व्यक्तिगत रूपमै प्रतिशोधमा उत्रिनुभयो भन्ने छ नि’ भन्ने अर्को प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।