काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा भेट पुगेका हुन् ।
संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा पौडेल र दाहालबीच भेट भएको हो । भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको बारे छानविन गर्न संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसले गरिरहेको छ । समिति गठनको सहमति भए पनि त्यसको कार्यादेशका विषयमा सहमति जुट्न सकेको छैन । सरकार आफ्नो माग सुनुवाइ गर्न तयार नभएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भनाई छ । सरकार आफूहरुको माग सुनुवाइ गर्न तयार नभएसम्म सदनको कारवाही अगाडि बढाउन नदिने कांग्रेसको अडान छ ।