images

सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज दिउँसो २ बजे भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ ।

काठमाडौंका १० क्षेत्रअनुसार क्रमशः उमेशजंग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा. डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ । ललितपुरका ३ क्षेत्रमा क्रमशः दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् ।

त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् । काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएयता सङ्घीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ ।

आजको प्रदर्शनमा कांग्रेसले गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनुका साथै सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने जनाएको छ ।