काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।
आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।
परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’
सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेकोमा कांग्रेस सहमत छैन ।
आन्तरिक छलफलअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।
सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।