images

गृहमन्त्री रविलाई ज्ञानेन्द्र शाहीको प्रश्न:निर्दोष भए छानबिन समिति बनाउन किन मुटु काँपेको ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा निर्दोष हो भने छानबिन समिति बनाउन मुटु किन कपाएको हो? भन्दै प्रश्न गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गरिब जनताको रकम हिनामिना भएको सहकारी प्रकरणमा छानबिन समिति आवश्यक रहेको भन्दै यस्तै बताएका हुन्।

उनले भने, ‘सहकारी पीडितहरुको सडकमा बास भएको छ। मकै पोलेको, सागको मुठा बेचेको पैसा हो। कुनै अर्बपतिको हैन। नेपाली जनतालाई मार्न पाइँदैन। त्यसैले छानबिन समिति आवश्यक छ।’

उनले गृहमन्त्रीलाई सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा दुईवटा कुरा गरिरहेको भन्दै छानबिन समिति बनाउनका लागि तयार हुन आग्रह समेत गरे।

उनले भने, ‘माननीय गृहमन्त्री ज्यू। यदि तपाईं निर्दोष हो भने मुटु किन काँपिरहेको छ? खुट्टा किन काँपिरहेका छन्। छानबिन समिति बनाउन दिनुहोस्। निर्दोष हुनुभयो भने फेरि गृहमन्त्रीमै रहिरहनुहोला। तर अहिले छानबिन समिति आवश्यक छ।’