images

बजेटअघि देउवाले बोलाए विपक्षी दल र संसदीय दलको बैठक

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक आह्वान गरेका छन्। मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी देउवाले विपक्षी दलको बैठक बोलाएका सांसद रामहरि खतिवडाले जानकारी दिए।

भोलि सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउँदैछ । त्यसअघि देउवाले विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको छुट्टाछुट्टै बैठकमा छलफल गर्न खोजेका हुन्।

कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएका छन्।

कांग्रेसलगायत विपक्षी दलले यही माग राख्दै लगातार संसद् बैठक अवरोध गर्दै आइरहेका छन्। बजेट अधिवेशनको सुरुदेखि नै प्रतिपक्षी कांग्रेससहितको दलको अवरोधलाई पेल्दै सदन चलिरहेको अवस्था छ।

विपक्षीको अवरोधकै बिचमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सदनबानट पारित गरेको सरकारले बजेट पनि वाचन गर्ने तयारी गरेको छ। कांग्रेससहितका विपक्षी दलले भने भोलिको सदनमा पनि विरोध गर्ने जनाएको छ।

सांसद खतिवडाले देश सञ्चारसँग भने, ‘सरकारले पेलेर गएको छ, कांग्रेससहितका प्रतिपक्षी दलले भोलि पनि अवरोध गर्ने तयारी छ, गृहमन्त्री लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानविन समितिको कार्यदेशमा पनि कुरा मिल्न सकेको छैन,सत्तापक्षले कार्यदेश टुंगो लगाउन खोज्ने देखिएको छैन,कांग्रेसले बोल्दा खेरि सरकारको कम्पारो तात्नुपर्ने कारण के हो? एउटा मान्छेको नाम आएको छ नाम राखेर छानबिन हुन नहुने कस्तो नाम हो? हामी टिओआरको छलफलमा बस्नुको औचित्य पनि देख्दिन म त, बैठकमा जाने कि नजाने भएको छ।’