images

ठगहरूको प्रवेशले ठूला सहकारीहरू संकटग्रस्त बने : अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारीमा गैरसहकारीवालाको प्रवेश भएको बताएका छन् । एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गैरसहकारीवालाकै कारण सहकारीमा संकट उत्पन्न भएको बताएका छन् ।

सहकारीमा ठग्नकै निम्ति ती व्यक्तिहरू सहकारीमा आएको उनले बताएका छन् । ‘सहकारीमा केही गैर–सहकारीवालाहरूले प्रवेश गरे । सहकारीलाई ठगेर खान्छु भन्नेको प्रवेशकै कारण केही ठूला सहकारीको बदनाम भएको छ । ती संकटग्रस्त भएका छन् । साँच्चैका सहकारीहरू संकटमा छैनन्,’ उनले भने ।

अध्यक्ष ओलीले नियममा बसेका सहकारीहरू समस्यामा नभएको जिकिर गरेका छन् । उनले सहकारी आफैंमा राम्रो कुरा भएको बताउँदै त्यसबाट धेरै महिलाहरूले जीविकोपार्जनलाई सहज बनाएको बताए । उनले महिलाहरूले राजनीति बाहेक केही न केही गर्नुपर्ने बताए । उनले गमलामा खुर्सानी नै किन नहोस् रोप्नु पर्ने बताए । ‘गमलामा खुर्सानी रोपेपछि कम्तीमा बजारबाट खुर्सानी त किन्न परेन । नुन त किन्नै पर्छ । त्यसको विकल्प छैन । तर, त्यस बाहेक हामी सबै चिज फलाएर खान सक्छौं,’ उनले भने ।

उनले एमालेलाई सबै क्षेत्रमा निर्णायक बनाएर लैजानुपर्ने बताएका छन् । निर्णायक ठाउँमा लगेर नीति निर्माण बनाउने र देशको सार्वभौमसत्तालाई बचाउने अभियानमा लाग्न उनले महिलाहरूलाई निर्देशन दिएका थिए । अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने गलत शब्दावली प्रयोग भइरहेको बताएका छन् ।

उनले कति संघर्ष, लडाइँ गरेर, कुन अवस्था पार गरेर यहाँसम्म आइपुगेको भन्ने अहिलेको पुस्ताले नदेखेको टिप्पणी गरेका हुन् । ‘अवस्था जहाँको तहीं छ भन्ने होइन । एउटा गलत शब्दावलीको प्रयोग भइराखेको अहिले नेपालमा, व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने ! भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो ?,’ उनले भने ।