images

बागमती प्रदेश सभा बैठकः नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

मकवानपुर- बागमती प्रदेश सभामा बुधबारदेखि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई छलफल गरियोस् भनी प्रस्ताव टेबुल गरे। त्यसपछि सत्तापक्ष र प्रतिपक्ष गरी ११ जना प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए।

बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले सरकारले ल्याइएको नीति तथा कार्यक्रममा प्रत्यक्ष रोजगारीलाई समेट्न पुराना उद्योगलाई सञ्चालनमा ल्याउनेतर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव दिए। उनले कृषिलाई उत्पादनमुखी बनाउन प्रदेशको पायक पर्ने स्थानमा प्राङ्गरिक मल कारखानाको स्थापना गर्न बजेटमा व्यवस्था गरिनुपर्ने बताए।

यसैगरी प्रदेश सभा सदस्य राजु विष्ट, तारानारायण श्रेष्ठ, मसिना खड्का, ठूला थामी, बालकुमारी विश्वकर्मा, रामकुमार पहाडी, प्रभात तामाङ, मातृकप्रसाद भट्टराई, उत्तम जोशी र समिता खड्गीले नीति तथा कार्यक्रममाथि  धारणा राखे। उनीहरुले विगतका वर्षहरुबाट सिक्दै धेरै नागरिक र क्षेत्र लाभान्वित हुने भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा छनोट भएका योजना मात्र आगामी वर्षको बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए।

यसैगरी कृषि उत्पादन वृद्धिका लागि बाँझो जग्गामा खाद्यान्न र फलफूल खेती गर्न आर्थिक प्याकेज,  कृषकले लगाएका बालीको सुरक्षाका लागि बाँदर, बँदेल लगायत अन्य जनावरबाट जोगाउन वैकल्पिक उपायको खोजी, कृषि सामग्रीको बजार व्यवस्थापनका लागि ध्यान दिन उनीहरूले आग्रह गरे।

प्रदेश सभाको अर्को बैठक भोलि जेठ १७ गते बिहान १० बजे बस्नेछ।