images

बजेट माओवादीको एकलौटी : विष्णु रिजाल

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकारले आगामी वर्षका लागि ल्याइएको बजेटमा असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बजेट र नीति तथा कार्यक्रम संसदमा छलफल नै नभएको र सत्ता समीकरणको सबैभन्दा ठूलो दल एमालेको अपजस लिनु पर्ने खालका कुनै पनि कार्यक्रम नसमेटिएको उल्लेख गरेका हुन्।

नेता रिजालले एमालेले अघि सारेका अवधारणा नसमेटिएको र सत्ता साझेदार दलसँग कुनै छलफल नै नभएको बताएका छन्। उनले घुमाउरो पारामा माओवादी केन्द्रले एकलौटी गरेर बजेट ल्याएको उल्लेख गरेका छन्।

रिजालले के लेखे 

सरकारको नीति–कार्यक्रममा संसद्मा छलफलै भएन, बाहिर पनि खास चासो देखिएन । बजेट सुन्दा र दोहोर्याएर पढ्दा पनि नेकपा (एमाले) प्रतिबिम्बित भएको मैले पाइनँ । बजेट बनाउनुपूर्व सत्ता साझेदार दलबीच गहनतापूर्वक के कति छलफल भयो, थाहा भएन ।

तर, सत्ता समीकरणको सबभन्दा ठूलो दलका हैसियतले सबभन्दा ठूलो अपजस एमालेको टाउकोमा आउने भएकाले नीति तथा कार्यक्रम र बजेटमा एमालेको प्रमुख भूमिका रहनुपर्ने हो । बजेट सामान्य, नियमति र ठीकठीकै छ ।

धेरै पाटा त संसद्मा छलफल हुँदा पनि आउलान् । तर, बजेटमा जुन प्रकारले एमालेले अघि सार्दै आएका अवधारणाहरु समेटिनुपर्ने हो, त्यस्तो देखिएन ।