images

भारतमा गर्मीका कारण ३१ जनाको मृत्यु

नयाँदिल्ली- भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ। पूर्वी राज्य उडिसामा  गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआईआर) ले शुक्रबार जनाएको छ।

चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन्।

राउरकेला सरकारी अस्पताल (आरजीएच) मा १० र सुन्दरगढ जिल्ला मुख्यालय अस्पतालमा चार जनाको मृत्यु भएको थियो।

‘आरजीएच पुग्दासम्म आठ जनाको मृत्यु भइसकेको थियो। बाँकीको त्यहाँ उपचारका क्रममा मृत्यु भयो। आरजीएचका अधिकारीहरूले शव परीक्षणपछि मृत्युको वास्तविक कारण आज पत्ता लगाउने छन्,’ एआईआरले भनेको छ।

उडिसाले तीव्र गर्मीको लहर अनुभव गरिरहेको छ। राज्यका प्रमुख भागहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

झारसुगुडा राज्यको सबैभन्दा तातो ठाउँ थियो। बिहीबार त्यहाँ अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस रहेको प्रतिवेदनले देखाएको छ।

अधिकारीहरूले सर्वसाधारणलाई गर्मीसम्बन्धी रोगहरूको उपचारका लागि अस्पतालहरूमा भर्ना गरिएको बताएका छन्।

भारतको मौसम विभागले सर्वसाधारणलाई गर्मीको जोखिमबाट बच्न, चिसो ठाउँमा बस्न र पर्याप्त पानी पिएर हाइड्रेटेड रहन सुझाव दिएको सिन्ह्वाले जनाएको छ।

त्यसैगरी बिहारको औरङ्गाबाद जिल्लाको एक अस्पतालमा गर्मीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

यसअघि १२ जना पुगेको बिहारको औरङ्गाबादमा तातो लहरका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म १७ जना पुगेको छ।