श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

गोदार– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरु गरिएको बताएका छन् ।

जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा आयोजित मेलाको आज उद्घाटन गर्दै उनले बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न स्थानीय उद्योगीलाई आग्रह गरे ।

मन्त्री अर्यालले रोजगारीको खोजीमा मधेसबाट ठूलो सङ्ख्यामा युवा पुस्ता विदेश जानेक्रम नरोकिएकोमा चिन्ता व्यक्त गर्दै कृषिकर्ममा लाग्न उनीहरूलाई लाग्न आग्रह गरे।

‘स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो’, उनले भने।

मन्त्री अर्यालले मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीनरूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।