images

सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो : ओली

काठमाडौँ — सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

अध्यक्ष ओलीले सरकारले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनको आलोचना गरे । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको आरोप लगाए ।

ओलीले भने, ‘हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरु छलफल बाँकी रहन्छ । अघि नै मैले भने, विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन-कुन मन्त्रालय कस्तो विनियोजन भयो ? र त्यसमा कुन-कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौती गरिएको छ ? कुन पूरा भयो, कुन अपुरैमा कटौती भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि ? कहाँ कस्ता कमी रहे, त्यसलाई पनि हेरिनेछ ।’

उनले बजेट अर्थमन्त्रीको हो कि अर्थमन्त्रीको पार्टीको हो भन्दै प्रश्न गरे । यो बजेट एकदमै सामान्य हिसावले भन्ने हो भने दफावार हिसावले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि रु जस्तो अलि बढ्ता देखिन गएको छ, उनले भने, हामीले समाजवाद निर्माणको बाटो लिएका छौं ।