पोखरा आइपुग्यो नौं देशका राजदूतसहितको टोली, पञ्चेबाजाले स्वागत

काठमाडौं । विभिन्न नौं देशका राजदूतसहितको टोली पोखरा आइपुगेको छ । अन्नपूर्ण दिवस मनाउन पोखरा आएको टोलीलाई पोखराका पर्यटकीय संघ संस्थाहरूले पञ्चेबाजासहित स्वागत गरेका छन् ।

उनीहरू आज धम्पुसदेखि धितालसम्म पदयात्रा गर्ने कार्यक्रम छ । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक माउरिस हार्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि आरोहण सुरु भएको थियो । त्यसकै सम्झनामा हरेक वर्ष जुन ३ मा अन्नपूर्ण डे मनाइँदै आइएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आज आधा दर्जना बढी मुलुकका कुटनितिक नियोगका प्रमुखहरू पोखरा भ्रमण गर्दैछन् ।

अन्नपूर्ण प्रथम हिमालको आरोह दिवसको अवसर पारेर आजदेखि तीनदिने कार्यक्रम आयोजना गरिँदै छ । जसको पहिलो दिन आज नेपालस्थित विभिन्न कूटनीतिक नियोगका उच्च अधिकारीले पोखरा क्षेत्र घुमफिर गर्ने भएका हुन् । पदयात्रापछि उनीहरु आज राति नै पोखरा फर्किने छन् ।

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले पोखरामा ती मुलुकका पर्यटक आगमन बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ । पर्यटन बोर्डका अनुसार उक्त कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्सालसहित अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्याण्ड, मलेशियाका राजदूतका साथै दूतावासका उच्च अधिकारीहरू पोखरा आएका हुन् ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडीपी०, संयुक्त राष्ट्र संघीय जनसंख्या कोष ९युएनएफपीए० दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि यो भ्रमणमा सहभागी हुनेछन् । दिवसमा अवसरमा अन्नपूर्ण हिमाल आरोहण गरेका तीनजना पर्वतारोही पूर्णिमा श्रेष्ठ, दाबा योङजन शेर्पा र लाक्पा डेन्डी शेर्पासहितका आरोहीलाई पनि सम्मान गरिने बोर्डका पोखरास्थित निमित्त प्रमुख नवीन पोखरेलले जानकारी दिए । अन्नपूर्ण दिवसका कार्यक्रमका लागि ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० गण्डकी र नेपाल पर्वतारोहण संघ गण्डकीसँग सहकार्य गरेको छ ।