images

गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ।

उक्त रिट आज आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। रिटमा आज पहिलो सुनवाइ हुन लागेको छ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुई पटक स्थगित भएको थियो।

रिट पाँचौं नम्बरमा पेशी रहेको छ। यसअघि लगातार सुनिल पोखरेलको इजलासमा पेशी परेको थियो। पोखरेलको इजलासमा परेको पेशी निवेदक आफैंले स्थगितका लागि निवेदन दिँदै हटाएका थिए।

रास्वपाका सभापति सभापति समेत रहेका गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट’ दिनेगरी महान्यायाधिवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको हो।

महान्यायाधिवक्ता कार्यालयले सहकारीका विषयमा कुनैपनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए।

उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो।