images

मधेस सरकार सम्बन्धमा निर्णय लिँदै लोसपा र नेकपा एस

जनकपुरधाम- मधेस प्रदेश सरकार सम्बन्धमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले निर्णय लिन लागेका छन् ।

दुवै दलले यसका लागि छुट्टा छुट्टै बैठक बसेर निर्णय लिन लागेका हुन् ।

लोसपाले मधेस सरकारको सम्बन्धमा निर्णय लिन बैठक बसेको हो ।

लोसपाका मधेस प्रदेशका संसदीय दलका उपनेता उपेन्द्र महतोले मधेस सरकारको सम्बन्धमा आज आफुहरु निर्णय लिन लागेको बताए ।

यता, केन्द्रीय गठबन्धनमा रहेको नेकपा एसलेसमेत मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारमा रहने अथवा केन्द्रीय गठबन्धन अनुसार जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमा निर्णय लिन लागेको हो ।

आज दिउँसो बोलाइएको सचिवालय बैठकले मधेस सरकारको सम्बन्धमा महत्त्वपूर्ण निर्णय लिन लागेको नेकपा एसले जनाएको छ ।

नेकपा एसका प्रवक्ता जगरनाथ खतिवडाले आज दिउँसो बस्ने बैठकले मधेस सरकारको सम्बन्धमा निर्णय गर्ने बताए । उनले जसपा नेतृत्वको सरकारमा रहने अथवा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तर्फ लाग्ने सम्बन्धमा सचिवालय बैठकमा निर्णय गरिने बताए ।

मधेस प्रदेशसभामा अहिले १०६ जना सदस्य कायम रहेकाले सरकार निर्माणका लागि ५४ सदस्यको समर्थनको आवश्यकता छ ।

मधेसमा २५ सांसदसहित नेकपा एमाले पहिलो दल छ भने नेपाली कांग्रेसका २२, जनता सामाजवादी पार्टीका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एसका ७ सांसद छन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १.१ जना सांसद छन् ।