images

राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पालाई जीवित राख्न स्मृति ग्यालरी स्थापना (तस्बिर/भिडियो सिहत)

सोलुखुम्बु । राष्ट्रिय विभुति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको स्मृति ग्यालरीको स्थापना  भएको छ ।

उहाँको जीवनकालका काम र उपलब्धीलाई स्मरण गर्ने लक्ष्यले खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लामा ग्यालरीको स्थापना भएको हो । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अगुवाईमा निर्माण गरिएको उक्त ग्यालरीको आइतबार उद्घाटन गरिएको छ । लामाविधिबाट पुजापाठ गरी खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले रिवन काटेर ग्यालरीको उद्घाटन गर्नुभएको प्रतिष्ठानका महासचिव छेटु शेर्पाले जानकारी दिनुभयो । ग्यालरीमा राष्ट्रिय विभुति शेर्पाको सन् १९६१ देखि सन् १०९३ सम्मको जीवनकालको गतिविधिसँगै विभिन्न हिमाल आरोहणको इतिहासलाई समेटिएको छ ।

उहाँले गर्नुभएको लैङगिक समानता र नेतृत्वको भावलाई सरकारले गरेको सम्मान र उपलब्धिहरु समेत ग्यालरीमा समावेश गरिएको महासचिव शेर्पाले जानकारी दिनुभयो । उहाँको जन्मस्थल रहेको गाउँपालिका खुम्बुमा भविश्यमा पासाङ ल्हामु म्युजियमको स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यका लागि सुरुवाती चरणको कामका लागि ग्यालरीको स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । उद्घाटनकै दिन स्वदेशी तथा विदेशी गरी पाँच सय बढी पर्यटकहरुले ग्यालरीको अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले लुक्लासँगै पोखरामा रहेको अन्तराष्ट्रिय पर्वतीय म्युजियममा पनि पासाङ ल्हामुको ग्यालरी स्थापना गर्ने तयारी गरेको जनाएको छ । शेर्पाले सन् १९९३ अप्रिल २२ का दिन पहिलो पटक नेपाली महिलाको तर्फबाट सगरमाथाको आरोहण गर्नुभएको थियो । ग्यालरीमा राष्ट्रिय विभूति शेर्पाको सम्पुर्ण जानकारीसँगै सगरमाथा आरोही नेपाली महिलाहरु र प्रख्यात महिला आरोहीहरुको जानकारीहरु समेत समावेश गरिएको छ । हालसम्म ६१ जना नेपाली महिलाले सगरमाथाको आरोहण गरी सकेका छन् ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले नेपालमै पहिलो पटक इन्डोर वाल क्याइम्विङ सेन्टर स्थापना गरी पर्वतारोहण क्षेत्रको प्रवद्र्धन र लुक्लामा पासाङ ल्हामु निकोल निकी अस्पताल स्थापना गरी सेवामुलक कार्य गर्दै आएको छ । यता महिला पर्वतारोहीहरुका लागि जीविकोपार्जन सम्बन्धि तालिम तथा क्षमता अभिबृद्धि र हिमाली क्षेत्रका महिला तथा वालवालिकाहरुका लागि शिक्षा स्वास्थ्यको क्षेत्रमा सेवामुलक कार्य गर्दै आएको छ ।