नोभेम्बरमा ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ आयोजना गर्दै कामपा

काठमाडौं : बेलायतको म्यानचेष्टरमा आयोजित ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छिन्। स्वदेश फर्किएपछि त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले आउँदो नोभेम्बरमा काठमाडौंले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन्।

‘विश्वका महिलाहरूको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो, वास्तवमा यो अपूर्व अवसर थियो’‚ डंगोलले भनिन्, ‘अवस्थालाई अवसरमा रूपान्तरण गरिएका कथा हाम्रा लागि सिकाइ बनेका छन्। यो सिकाइलाई हामी महिलाहरूको सार्थक र सक्रिय सशक्तिकरणका लागि उपयोग गर्छौँ।’

सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्तालाई आमन्त्रण गरिएको थियो। राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलार्ड र काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले विचार राखेका थिए।

संवादमा महिलाहरूका परिस्थिति र प्रतिकूलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामूलक कामका विषय समेटिएका थिए। संवादमा उपप्रमुख डंगोलले नेपाली राजनीतिमा महिलाहरूको सहभागिता बढ्दै गएको बताएकी थिइन्।