images

मन्त्रालयका कर्मचारीको व्यवहारले दिक्क बनायोः मन्त्री साह

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको बताएकी छन्।

मन्त्री साहले कर्मचारीहरुबीच एकले अर्कालाई आक्षेप मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराइन्।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले मन्त्रालयलाई नमूनायोग्य मन्त्रालयको रुपमा विकास गर्ने गरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिइन्।

कुनै बद्नामी नहुने गरी कर्मचारीहरुले काम गर्नुपर्ने मन्त्री साहको भनाइ थियो। उनले कर्मचारीहरुले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनै पनि गतिविधि गर्न नहुने बताइन्।

उनले भनिन्, ‘हामी हामीमा नै फलाना खत्तम, ऊ खत्तम। मैले यो भन्दा अरु सुनेकै छैन मन्त्रालयमा। प्रगतिको कुरा सुनेकै छैन। यो फलानालाई बनाउनु हुँदैन है, खराब छ। अर्को आयो, त्यो खराब छ भन्छ। ए बाबा, कति सुन्नु यस्ता गुनासाहरु? सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ। कस्तो मन्त्रालय रहेछ भनेजस्तो पनि लाग्न थालिसक्यो।’