images

माग पूरा नभएसम्म काठमाडौँमा पानी पठाउँदैनौँ : हेलम्बु गापा उपाध्यक्ष

काठमाडौँ : हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु–मेलम्चीवासीका माग पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौँमा नपठाउने चेतावनी दिएकी छन्।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु-मेलम्चीवासीका माग पूरा नगरेसम्म पानी नपठाउने चेतावनी दिइन्। उनले सरकारले बारम्बार हेलम्बुवासीका मागको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौँ पठाउने अडान लिइन्।

उनले स्थानीय बासिन्दाले वर्षायाममा आफूहरूलाई आवतजावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भने पनि सरकारले बेवास्ता गरिरहेको आरोप लगाइन्। उनले अबको बजेटमा सरकारले हेलम्बु-मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताइन्।

उनले विद्यालयस्तरमै विपद् शिक्षा हुन जरुरी भइसकेको पनि बताइन्। उनले एक वर्षको ६ देखि १० करोड बजेट विपद्‌मा खर्च गर्नुपर्दा गाउँपालिकाको विकास योजनानुसार गर्न नसकेको स्पष्ट पारिन्।

उपाध्यक्ष लम्सालले भनिन्, ‘थोरै पानीको तह बढ्यो भने हामीले घर, स्कुल गुमाउनुपर्ने अवस्था छ। सबैभन्दा पीडित अवस्थामा म आफैँ पनि छु। मेरो बच्चा अहिले एक कक्षामा पढ्छ, ममी पानी आयो त, हामी आज रातभर सुत्न सक्छौँ ? कहाँ जाने ? यो हेलम्बु, मेलम्ची, पाँचपोखरीका बच्चामा यो कन्सेप्ट छ। पानी आउनेबित्तिकै बाढी आउँछ भन्ने छ। हामी हरेक वर्ष त्यो पीडामा बस्न सक्दैनौँ। हामीसँग समन्वय गरेर हाम्रो माग सम्बोधन गर्ने कि नगर्ने ? वर्षा लाग्यो अब हामी स्कुल जान सक्दैनौँ भन्ने त्यहाँका विद्यार्थीलाई छ। यो हिउँदभर नेपाल सरकार, प्रदेश सरकार के हेरेर बसे? हामीले बाटोघाटो, वर्षामा कठिन छ भनेर माग गरिरहेका छौँ। हामीलाई प्रदेश र संघ सरकारले किन बेवास्ता गरिरहे। काठमाडौंवासीले रित्तो गाग्री सडकमा आएर देखाउनेबित्तिकै पानी पाउनु हुन्छ भने हामीले पनि हाम्रो माग सम्बोधन गरेपछि मात्रै पानी पठाउँछौँ भन्ने कुरा यो फोरमबाट एडिबीका प्रतिनिधि र नेपाल सरकारले आवाज सुनोस्।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा.गंगालाल तुलाधरले हेलम्बु-मेलम्चीवासीका जायज माग सरकारले पूरा नगरेको बताए। त्यहाँका स्थानीयलाई जोखिमपूर्ण ठाउँबाट सारेर व्यवस्थित बनाउन दिने भनिएको रकम दिन नसकेको बताए।

उनले हेलम्बु-मेलम्चीमा अहिले पनि ठूलो वर्षा भए फेरि पनि जोखिममा पर्नसक्ने, बाढीबाट बग्नुपर्ने परिस्थिति रहेको बताए। उनले सरकार मेलम्ची-हेलम्बुका जोखिम क्षेत्रमा आवश्यक ध्यान दिनबाट चुकिरहेको बताए।