images

बजेटबारे सांसदका आ-आफ्ना तर्क- राम्रो छ, राम्रो छैन

काठमाडौँ- सत्तापक्ष र प्रतिपक्षका सांसद्ले आगामी आर्थिक वर्षको बजेटबारे आ-आफ्ना तर्क प्रस्तुत गरेका छन्। कुनै सांसदे बजेट राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कसैले बजेट जनताप्रति लक्षित नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको  छलफलमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको कर प्रणालीमा विरोधाभाष  देखिएको बताए।

उनले बजेटले कर छल्ने अवस्थाको अन्त्य गरी स्वतस्फुर्त रुपमा कर तिर्ने वातावरण बनाउन नसकेको बताए। उनले भने, ‘सिद्धान्त बाहिरको कर लगाइयो भन्ने आरोप छ, आम्दानी र नाफा नहुने ठाउँमा कर लगाइयो भन्ने टिप्पणी छ, यसमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ।’

वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउने योजना बजेटमा समावेश नभएको उनको टिप्पणी थियो। ‘कार्यक्रम बिना कृषि दशक घोषणा गरिएको छ। बाँझो जमिनको सदुपयोग गर्ने कार्यक्रम आउन सकेन,’ उनले भने।

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित नभई महत्वाकांक्षी भएको टिप्पणी गरे। उनले भने, ‘निराशालाई आशामा परिणत गर्ने दिशा यस बजेटले दिन सकेको छैन,’  उनले भने।

सांसद केसीले बजेटको आकार ठूलो भएको र घाटा बजेट हुने स्थिति भएको टिप्पणी गर्दै चालु खर्चमा निर्मम कटौती देखाउन नसकेको जनाए। उनले पूँजीगत खर्च गर्न नसक्ने संयन्त्रलाई सक्षम बनाउन र निजी क्षेत्रलाई हतोत्साहित नगर्न आग्रह गरे।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधारको नयाँ चरण घोषणा गरेको बताए। उनले सन्तुलित रूपमा बजेट प्रस्तुत भएको दाबी गरे।

बजेटले आर्थिक रुपान्तरणको स्पष्ट लक्ष्य किटान गरेको उल्लेख गर्दै उनले रोजगारी र उत्पादन वृद्धि, सूचना प्रविधि सेवा निर्यातबाट आर्थिक समृद्धि सम्भव भएको बताए।

ऊर्जा, कृषि लगायत क्षेत्रको विकासका लागि बजेटले स्पष्ट खाका कोरेको जनाउँदै उनले भरतपुर, पोखरा बुटवललाई जोडेर घोषणा गरिएको गण्डकी आर्थिक ‘त्रिभुज’ले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सघाउने बताए।

सांसद् रामकुमार राईले आगामी आर्थिक वर्षको बजेट नेपाली जनताको विश्वास जित्नेगरी ल्याइएको बताए। बजेटका पाँच प्राथमिकताले विद्यमान चुनौतीलाई समाधान गर्ने विश्वास व्यक्त गर्दै उनले बजेट कार्यान्वयन भने चुनौतीपूर्ण हुने बताए।