नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो।

उसका लागि म्याक्स ओडाउडले अर्धशतकीय पारी खेले । उनी ५४ रनमा अविजित रहे। विक्रमजित सिंहले २२ र साइब्राण्ड एन्जलब्रेटले १४ रन बनाउँदा कप्तान स्कट इडवार्डस् ५ रनमा आउट भए।

नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो। नेदरल्याण्ड्सलाई १०७ रनको विजयी लक्ष्य दिएको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे ।

करण केसीले १२ बल खेल्दै २ छक्काको सहयोगमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौकासहित ११ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

कुशल मल्ल ९, कुशल भुर्तेल ७, आसिफ शेख ४, दीपेन्द्रसिंह ऐरी एक रनमा आउट हुँदा सोमपाल कामी र अविनाश बोहरा शून्यमा आउट भए।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।