images

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, यादवले विश्वासको मत नपाउने निश्चित

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिँदैछन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। ​

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले बताए।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री प्रतिनिधित्व गर्ने दल जसपाका १९ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसले यादवको पक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेसका २२ जना प्रदेशसभा सदस्य छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले भने विश्वासको मत दिने अथवा नदिने निर्णय आज मात्र लिने जनाएको छ ।

यता, जनमत पार्टीको नेतृत्वमा बनेको नयाँ गठबन्धनसँग स्पष्ट बहुमत छ । सरकार बनाउन ५४ जना सदस्यको समर्थनको आवश्यकता रहेकोमा जनमत पार्टीका १३, नेकपा एमालेको २५, माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् ।

यस्तै, हाल लोसपाको ८ जना प्रदेशसभा सदस्य छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १/१ जना प्रदेशसभा सदस्य छन् ।