काठमाडौंः काठमाडौं महानगरपालिकाले महानगरअ्रन्तर्गतका ४ सय ७३ विद्यालयले कानुनअनुसार १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराएको जानकारी गराएको जनाएको छ ।
४ सय ७३ विद्यालयमा १ लाख ४९ हजार ९ सय ५० विद्यार्थी अध्ययनरत रहेकोमा १८ हजार ४ सय २२ जनालाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराइएको जानकारी आएको महानगरले जनाएको हो ।
१० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने संस्थागत (निजी) विद्यालयहरूलाई काठमाडौं महानगरले बन्दको सूचीमा राख्ने चेतावनी दिएको छ।
बिहीबार एक सूचना प्रकाशित गरेर काठमाडौं महानगरपालिकाले त्यस्तो चेतावनी दिएको हो। काठमाडौं महानगरपालिकाले अहिले ४७३ निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गरेको तथ्यांक पनि प्रस्तुत गरेको छ। महानगपालिकाको निर्देशन अटेर गर्ने निजी विद्यालयलाई तीन दिनभित्र विवरण पेश गर्न समयसीमा पनि तोकेको छ।
त्यतिञ्जेलसम्म पनि विवरण नबुझाउने विद्यालय बन्दको सूचीमा रहने, ती विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न र गरिरहेको भए अन्यत्र स्थानान्तरण गर्न पनि महानगरले आग्रह गरेको छ।
‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५० काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गर्दा जेठ २३ गते सम्ममा ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएका छन्। यसर्थ, छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले काठमाडौं महानगरपालिका शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउनुहुन यसै सूचनाबाट पुनः अनुरोध गरिएको छ। यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखीकरण गरी यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न÷नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकहरूलाई सूचित गरिने व्यहोरा अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ।
महानगरले बाँकी विद्यालयलाई पनि ३ दिनभित्र उक्त जानकारी पठाउन निर्देशन दिएको छ । जानकारी नपठाउनेलाई विद्यालय बन्द रहेको अभिलेखीकरण राखिने चेतावनी दिएको छ ।त्यस्ता विद्यालयमा बालबालिका भर्ना नगराउन र गरेको भए अन्तै सार्न पनि महानगरले आग्रह गरेको छ ।