images
images

जसपा नेपालको महाधिवेशनको तयारी तीव्र

धनुषा, २४ जेठ : जनता समाजवादी पार्टी(जसपा)नेपालको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ । यही जेठ २७ गते जनकपुरधामको तिरहुतिया गाछीमा महाधिवेशन उद्घघाटन कार्यक्रम रहेको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनका लागि तिरहुतिया गाछीमा निर्माण गरिएको विशाल पण्डाललाई हुरीले भत्काएपछि पुनःनिर्माणको कार्य सुरु भइसकेको छ । जसपा नेता रामाशिष यादवका अनुसार महाधिवेशनका लागि प्रायःसर्वसम्मतले प्रतिनिधि चयन गरिएका छन् । मधेश प्रदेशका जिल्लामा घरदैलो अभियान गरी प्रचारप्रसार गरिँदैछ । महाधिवेशनमा एक हजार प्रतिनिधि रहने बताइएको छ । महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । पाँच सय स्वयंसेवक र पर्यवेक्षक रहने महाधिवेशन तयारी समितिले जनाएको छ । एक हजार पाँच सय जनाका लागि आवास र भोजनको प्रबन्ध मिलाइएको बताइएको छ ।

जसपाको नयाँ विधान अनुसार पार्टीमा अध्यक्षसहित १७ पदाधिकारी रहने छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने सम्भावना रहेको बताइएको छ । मधेशी जनअधिकार फोरमदेखि नै उपेन्द्र यादव हालसम्म अध्यक्ष रहनुभएको छ । पार्टी पटक–पटक गरी १४ पटक विभाजन भइसकेको छ । कार्यकारिणी समितिका सदस्य विजयकुमार यादवले लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने भएकाले प्रतिस्पर्धा हुनु अस्वभाविक नभएको बताउनुभयो ।

“अध्यक्षलगायत अन्य पदमा पनि प्रतिस्पर्धा हुनसक्छ”, उहाँले भन्नुभयो, “चुनावको सम्भावना छ ।” सर्वसम्मतले नै केन्द्रीय समिति चयनको प्रयास हुने उहाँले बताउनुभयो । जसपा नेपालको कार्यकारिणी समितिमा हाल आठ जना मात्र छन् । बाइस जनामध्ये अधिकांश पार्टी छाडेका छन् । पछिल्लो पटक अशोक राईको नेतृत्वमा पार्टीका सात सांसदसहित पार्टी विभाजन भएको थियो । त्यसविरुद्ध अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी जेठ २५ गते तोकिएको छ । महाधिवेशनलाई सर्वोच्च अदालतबाट आउने फैसलाले पनि प्रभाव पार्ने देखिएको छ ।

विभाजनको मान्यता दिने निर्वाचन आयोगको निर्णय रद्ध भए अलग्गिएका पनि जसपा नेपालमा नै समाहित हुनुपर्नेछ ।