कर्णाली प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा

कर्णालीमा श्रम खोज्ने र दिनेका लागि श्रमाधान मेला हुने भएको छ । शुक्रबार (भोलि) बाट प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मेलाको तयारीका विषयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव टीकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकका बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए ।

‘मेलाले रोजगारीका अवसरहरू सिर्जना गर्ने, सीप विकास प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक तथा निजी साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौँ,’ ढकालले भने ।

त्यस्तै, नेपाल चेम्बर अर्फ कमर्स कर्णली प्रदेश अध्यक्ष चिन्तामणि न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकताअनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनको भनाइ छ ।

‘वर्षौंदेखि हामी हरेक कुराको लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ । तर, अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न, कस्ता खालको सिपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ न्यौपानेले भने ।

श्रम कार्यलय सुर्खेतका कार्यालय प्रमुख श्रीसमशेर रानाले मेलाको तयारी पूरा भएको बताए । मेलामा ४० वटा निजी क्षेत्रका स्टलहरू रहने छन् । जसमध्ये ३४ वटा स्टलहरू बुक भइसकेको उनले बताए । बेलुकासम्ममा अन्य स्टलहरू पनि बुक हुने अपेक्षा रहेको उनको भनाइ छ ।

मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्नेछन् । १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २/२ दिन सञ्चालन भइरहेको छ । कर्णालीमा २५ र २६ गते सञ्चालन हुनेछ ।