काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले धेरै पर्यटक भित्र्याउन नयाँ गन्तब्य खोजिने कार्य भैरहेको बताएका छन् ।
बिहिबार काठमाडौँमा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औं वार्षिक साधारणलाई सम्बोधन गर्दै मन्त्री तामाङले सो कुरा बताएका हुन । यस वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताउँदै उनले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र पर्यटन प्रबर्द्धन गर्न सकिने धारणा राखे । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएको र सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङ्को भनाई छ । उनले निजी क्षेत्रसँग सहकार्य गरेर इको हिल स्टेसन संचालन गर्न सरकारले तयारी गरिरहेको बताउंदै गर्मी छल्न बिशेष गरि नेपालका तराईका बासिन्दा र भारतीय पर्यटकका लागि आफ्नो रोजाई अनुसारको मज्जा लिएर रमाउन सकिने धारणा राखे । कयौ मनमोहक बनाउने सुन्दर ताल र हिमश्रृंखलाहरु नेपालमा रहेको भन्दै उनले शान्तिको प्रतिक भगवान गौतम बुद्ध (लुम्बिनी),पशुपतिनाथ,मुक्तिनाथ लगायत कयौं धार्मिकस्थल पर्यटनको राम्रो गन्तब्य हुनसक्ने धारणा राखे ।
सरकारले यस क्षेत्रको बिकासको लागि पहिले लगाउंदै आएको भ्याट र केहि कर हटाउने काम भैरहेको र यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने बिश्वास सरकारले लिएको उनको भनाई छ । बिश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचिमा पर्ने हुँदा अब पुरानो गन्तब्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तब्यमा पूर्वाधार निर्माणको काम सुरु भैसकेको उनले बताए । उनले भने यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको छ । पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने उनले बताए ।
पाटा नेपालको अध्यक्षमा लकाइ
पाटा नेपालको अध्यक्षमा लकाइ पाटा नेपाल च्याप्टरको अध्यक्षमा पर्यटन उद्यमी खेम लकाइ निर्वाचित हुनुभएको छ । वार्षिक साधारणसभाले लक्काईको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको महासचिवमा नरेन्द्रदेव भट्ट र कोषाध्यक्षमा रितल राना चयन हुनुभएको छ । कार्यसमिति सदस्यमा लाक्पाफुटी शेर्पा, हिम्मत पुरी, सरिता लामा, सुनिल भट्टराई चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष लकाइले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवर्द्धनका कामलाई सरोकारवालाको समन्वय र सहकार्यमा प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड महामारीपछि मुलुकको पर्यटन पुरानै लयमा फर्किएको र यसलाई थप चलायमान बनाउन विशेषगरी अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । यसैबीच पाटा नेपालले यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड द्धारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ र साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेलाई प्रदान गरेको छ ।
यस्तै यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई टुरिजम ब्लेजर अवार्ड दिइएको छ । पाटा पर्सनालिटी अवार्ड २०२४ भोजनगृहका सञ्चालक भरतबहादुर बस्नेतलाई प्रदान गरियो भने पाटा स्पेसल कन्ट्रीब्युसन अवार्ड पर्यटन व्यवसायी नरेन्द्रदेव भट्टलाई प्रदान गरिएको छ ।
यस कार्यक्रममा विदेशी पर्यटन विज्ञ स्रोत व्यक्तिहरू समेत नेपाल आएका थिए ।