images

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको बैठक बस्दै, कार्यविधि बनाउने

काठमाडौं – सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगीबारे छानबिन गर्न गठित संसदीय बिशेष समितिको बैठक आज बस्दैछ।

सिंहदबारमा दिउँसो तीन बजे बैठक बस्ने तय भएको संसदीय छानबिन समितिका सभापति सूर्य थापाले जानकारी दिए। आज बस्ने बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने बताए।

आज बस्ने बैठकमा छानबिन समितिको कार्यविधिलगायतका विषयमा छलफल हुने थापाले जानकारी दिए । बुधबार सभामुख देवराज घिमिरेको उपस्थितिमा बैठक बसेको थियो । त्यही दिन अर्को बैठकमा कार्यविधिबारे छलफल हुने जानकारी दिइएको थियो । सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ ।

समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ । त्यस्तै समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने पनि कार्यक्षेत्र तोकिएको छ ।

समितिका सभापति सत्तारूढ दल नेकपा (एमाले)का सांसद थापा छन् । सदस्यहरूमा एमालेबाट सरिता भुषाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन् ।