images

मधेशको नयाँ सरकारमा यसरी भयो मन्त्रालय भागबण्डा : कसलाई कुन ? (सूचीसहित)

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुअघि मन्त्रालय भागबण्डा टुङ्गो लगाइएको छ । बिहीबार राति सत्ता गठबन्धनले मन्त्रालय भागबण्डा टुंग्याएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा सिंहले दाबी पेस गरेका छन् । नेकपा एमालेले चार वटा मन्त्रालय पाएको छ । एमालेले भौतिक पुर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण गरी मन्त्रालय पाएको हो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले दुई वटा मन्त्रालय पाएको छ । माओवादीले अर्थ र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय पाएको हो । नेकपा एकीकृत समाजवादीले पनि दुई वटा मन्त्रालय पाएको छ । समाजवादीले भूमी व्यवस्था कृषि तथा सहकारी र उर्जा सिँचाई तथा खानेपानी मन्त्रालय पाएको हो ।

जनमत पार्टीले तत्काल वन तथा वातावरण मन्त्रालय मात्रै पाएको छ । जनमतलाई पछि थप एउटा मन्त्रालय मिलाउने सहमति गरिएको छ । त्यस्तै नागरिक उन्मुक्तिले श्रम तथा यातायात र फोरमले गृह तथा सञ्चार मन्त्रालय पाउने सहमति भएको सहमति भएको छ । शुक्रबार बिहान नेता सिंहसँगै एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्रका संसदीय दलका भरतप्रसाद साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले प्रदेश प्रमुखसमक्ष दाबीपत्र पेस गरेका हुन् ।

मधेशमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका एक गरी ५४ जना प्रदेशसभा सदस्यको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएका थिए ।