पोखरालाई हरित सहर बनाउन ३८ प्रजातिका झण्डै साढे दुई लाख विरुवा रोपिने

पर्वत : नेपालको पर्यटनको राजधानी तथा गण्डकी प्रदेशको पनि राजधानी कास्कीको पोखरा महानगरपालिकालाई ‘स्वच्छ शहरः हरित सहर’ बनाउन करिब साढे दुई लाख विरुवा रोपिने भएको छ।

वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा. शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले तयार पारेर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाएको सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति सहितको अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ।

प्रतिवेदनमा महानगर क्षेत्रको सात सय किलोमिटर सडक तथा राजमार्ग, झन्डै ६९ किलोमिटर नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको एक सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने उल्लेख छ। सहरी वन विकास तथा हरियाली प्रवर्द्धनका लागि वर, पीपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत विरुवाहरू लगाइनेछ।

महानगर क्षेत्रमा दुई लाख २६ हजार दुई सय ६१ बिरुवाहरू लगाइनेछ। जसअन्तर्गत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार चार सय ९० र सडक, नदी तथा खोला किनारमा एक लाख ५२ हजार सात सय ७१ वटा बिरुवाहरू लगाउन सकिने कार्यदलका संयोजक डा।भण्डारीले बताएका छन्।

सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्थाहरू कार्यान्वयनको कमजोर अवस्था लगायत चुनौतीहरू रहेको प्रतिवेदनमा औँल्याइएको छ।

प्रतिवेदनमा विरुवा रोप्ने खाडल र बिरुवाको आकार, माटो, विरुवा रोप्ने समय, वृक्षारोपण अभियानमा सृजनात्मक तरिका तथा प्रोत्साहनजनक कार्यहरू, मल्चिङ, विरुवाको नाम लगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायहरूको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक भएको उल्लेख छ।

महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षारोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित स्थानहरूको पहिचान गरिएको नगर प्रमुख धनराज आचार्यले बताएका छन्। हरित सहरको निर्माण केवल हरियालीसँगमात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छता प्रति स्थानीय सरकारको प्रतिबद्धता समेत भएको धारणा राखे।

प्रतिवेदनले पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न माइल स्टोनको रूपमा काम गर्ने विश्वास व्यक्त गर्दै महानगर प्रमुख आचार्यले  यसको कार्यान्वयनका लागि आफूहरूले तत्काल काम थाल्ने उहाँले प्रतिबद्धता जनाएका छन्।

नगर प्रमुख आचार्यको विशेष पहलमा पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न, सम्भावित वृक्षारोपण स्थलहरू पहिचान गर्न, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न, उपयुक्त वनस्पति प्रजातिहरू पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षारोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उप प्राध्यापक डा।भण्डारी सहित उप प्राध्यापक सुमन भट्टराई र उप प्राध्यापक विकास अधिकारी सम्मिलित अध्ययन टोली गठन गरिएको थियो।