images

रवि लक्षित प्रदीपको टिप्पणी : अझै पदमा बस्नु नांगो भइसक्दा पनि कपडा लगाएको ठान्नु जस्तै

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले छानबिन भइरहेको व्यक्तिले सत्ता चलाउने खालको परिस्थिति कांग्रेसले अन्त्य गरेरै छाड्ने जिकिर गरेका छन् ।

उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे। उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे।

उनले नेपाली काँग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्‍याउन नसकिने स्थिति रहेको बताए।

उनले भने, ‘नेपाली काँग्रेस पार्टीले संसदमा सहकारीको मुद्दा त्यस ढंगबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरुले न्याय पाउने अवस्था हुँदैन थियो। ७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली काँग्रेसले एउटा निर्णायक मोडमा पुर्‍याएको छ।  हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिएको हो, त्यो व्यक्तिलाई तपाईंले राजीनामा दिनुपर्दैन भनेर फकाएर, तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ, तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ। राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो।’

उनले जनप्रतिनिधिको आवरणमा जनतालाई ठग्ने काम व्यापक रुपमा भइरहेको बताए।