images

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छः गगन थापा

मोरङ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस प्रतिपक्षमा  रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य  कुनै विकल्पमा नजाने प्रष्ट पारे।

महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताए। पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरवलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिए।

महामन्त्री थापाले सरकारले सत्ताको दुरुपयोग गरी नागरिक समाजका व्यक्ति र सञ्चारकर्मीहरुमाथि प्रश्न उठाउने कार्य अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिए। उनले कांग्रेस दलीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएको चर्चा गर्दै संसद्मा अन्य पार्टीहरुले कांग्रेसको नीति, नेता, निर्णयका विरोध एवं प्रश्न गर्न पाउने अधिकारको सम्मान गर्ने बताए।

उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ। हाम्रो चाहनाले होइन। परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ। यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ, केही दिनमा। बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ। त्यो अघि हामीलै नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ। त्यहाँ छलफलबाट केही समझदारी कायम गरेका छौँ। अब २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ। हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ।’

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गरेको आरोप लगाए। उनले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको बताए। उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको बताए। उनले यस सम्बन्धमा नेपाली काँग्रेसले ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने बताए।

उनले भने, ‘केही दिनअघि नेपालको एकजना पूर्वप्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा तुच्छ टिप्पणी गर्नुभयो। महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो। त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्रीदोषी पनि थियो। त्यो विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो।’

महामन्त्री थापाले पार्टीका विषयमा छलफल गर्ने परिपाटी पुनः विकास गर्न जरुरी रहेको बताए। उनले काठमाडौं काँग्रेसले रिभाइभ गरेर अघि बढ्न जरुरी रहेको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नयाँ राजनीतिक दल भन्दैमा दोषबाट मुक्त गर्न नमिल्ने बताए।