images
images

सलाम बालेनजीलाई, उहाँले कमसेकम हामी झोले सांसदलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो:सांसद गिरी

नेपाली कांग्रेसका सांसद दीपक गिरीले आफूलाई झोले सांसदको संज्ञा दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले आफ्नो निर्वाचन क्षेत्रबाट मतदाताले राति फोन गरेर दुःख पीडा सुनाउने गरेको भन्दै आफूलाई झोले सांसदको संज्ञा दिएका हुन् ।

‘आफूलाई झोले सांसद भन्न चाहन्छु । एउटी बुढी आमाको राति १२ बजे फोन आउँछ । बाबु मेरो खसी मर्‍यो । कहीँबाट केही पाइन्छ कि, दुईवटा पालेको एउटा मर्‍यो । राति नै अर्को फोन आउँछ । मेरो बुहारी छोरालाई किताब किन्न गएको आएकी छैन, खोजबिन गर्नुपर्‍यो । जनतालाई सांसदले ऐन बनाउने हो भन्ने थाहा छैन । पहिरो गयो माननीयज्यू, आगलागी भयो माननीयज्यू । मेयर बालेनले झोलेलाई वडास्तरमा पुर्‍याउनुभयो । धन्यवाद,’ उनले भने ।

बजेट परम्परागत शैलीमा चलेका कारण समस्या आएको उनले बताए । ‘प्रतिपक्षीले विरोध गर्नैपर्ने, सत्तापक्षले समर्थन गर्नैपर्ने । बजेटको इतिहास हेर्दा माननीय विष्णु पौडलको पालामा रुपन्देहीमा बढी जानुपर्ने । कपिलवस्तुको एमालेकै सांसद भए पनि दु:ख पोख्नु पर्ने । जनार्दन शर्माले भाषण गर्दा त्यता ढल्कने । हालको गठबन्धनको ठूलै नेताले यस्तो भयो भनेको सुनिएको के हो ?,’ उनले प्रश्न गरे ।

बजेट भाषण दिउँसो ४ बजेको सट्टा आगामी वर्षदेखि बिहान १० बजे ल्याउन उनले सुझाव दिए । ‘जतिबेला भारतमा ब्रिटिस सरकार थियो । भारतको बजेट बेलुका ४ बजे सम्बोधन हुनेरहेछ । इंग्ल्यान्डमा भने बिहान १० बझ्दो रहेछ । ब्रिटिसलाई सुनाउन रहेछ । यहाँ यो सुधार्नु पर्‍यो । अब आउँदो बजेट ४ बजे होइन, बिहान १० बजे आउनुपर्‍यो,’ उनले भने ।