images
images
images

वीर अस्पतालमा २३ दिन ब्रेन ट्युमरको शल्यक्रिया नि:शुल्क

काठमाडौं ।वीर अस्पतालमा आगामी १६ असार सम्म ब्रेन ट्युमरको शल्यक्रिया गर्दा बिरामीले त्यसबापत तिर्नु पर्ने शल्यक्रिया शुल्क नलाग्ने भएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा शनिबार वीर अस्पतालमा भएको एक कार्यक्रममा निःशुल्क शल्यक्रिया घोषणा गरिएको हो।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्र वीर अस्पतालका संस्थापक अध्यक्ष प्राडा राजीब झाका अनुसार वीर अस्पतालमा ८ जुन देखि महिना भर (२६ जेठ देखि १६ असार २०८१ सम्म) ब्रेन ट्युमरको शल्यक्रिया गर्दा शल्यक्रिया शुल्क लाग्ने छैन।

वरिष्ठ न्युरो सर्जन समेत रहेका केन्द्रका अध्यक्ष प्राडा झाले ब्रेन ट्युमरबाट प्रभावित भएका व्यक्तिहरू, तिनका परिवार र समाजमा यससँग सम्बन्धित कुराहरूको बारेमा अझ बढी जानकारी होस र बिरामीलाई धेरै भन्दा धेरै प्रत्यक्ष र परोक्ष रूपमा सहयोग तथा समर्थन होस भनेर यो दिवस मनाउने गरिएको बताए।

उनले विभिन्न अनुसन्धान खोज र प्रगतिका बावजुत ब्रेन ट्युमरको निदान र उपचार जटिल तथा चुनौतीपूर्ण रहेको भन्दै यस सम्बन्धी अनुसन्धानलाई थप बढाउन, बिरामीहरूको उपचारमा सुधार गर्न, प्रभावित व्यक्तिहरुको साथ र समर्थन गर्नका लागि नीति निर्माण गर्ने तहमा कुरा उठाउन आवश्यक रहेको बताए। हरेक वर्ष ८ जुनलाई विश्व ब्रेन ट्युमर दिवसको रूपमा संसार भर मनाइने गरेको छ।

सो अवसरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र वीर अस्पतालले पनि शनिबार जनचेतनामूलक प्रभात फेरी आयोजना गरेको थियो।  त्यसपछि वीर अस्पतालमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।