images

सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र होः मन्त्री शर्मा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताएकी छन्।

मंगलबार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै उनले सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र रहेको बताइन्।

उनले अनियमिततालाई नियन्त्रण गर्न यस क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने बताइन्।

उनले यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको बताइन्।

मन्त्री शर्माले विगतका नीति, नियम, कानून समयसापेक्ष बनाइ नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताइन्।

उनले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरुका रुपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको बताइन्।

उनले सूचना र प्रविधिको क्षेत्रका समस्या समाधान र अनियमितता हटाउन मन्त्रालयको नेतृत्वमा कार्यदल बनाएर जाने कुरामा छलफल भइरहेको पनि बताइन्।

२०७६ सालमा सुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको मन्त्री शर्माकाे भनाइ छ।