images

फ्लोर क्रस गरेका देवकोटा मन्त्री बन्दै, मनाङेले छैटौँपटक लिँदै छन् शपथ

पोखरा । गण्डकी प्रदेशका सांसदद्वय फणिन्द्र देवकोटा र दिपक मनाङे (राजीव गुरुङ) मन्त्री बन्ने भएका छन् । स्रोतका अनुसार देवकोटाले  ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउनेछन् । उनी गण्डकीको सामाजिक विकास तथा कृषि समितिका सभापति पनि हुन् ।

त्यस्तै, स्वतन्त्र सांसद दिपक मनाङे छैटौँपटक मन्त्री बन्दै छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुईपटक मन्त्री बनिसकेका छन् । सुरुमा सुरेन्द्रराज पाण्डे अल्पमतमा परेपछि मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । पाण्डे सरकार ढलेपछि पनि मनाङे खगराज अधिकारी सरकारमा सोही मन्त्रालयमा दोहोरिए ।

मनाङेले मंगलबार पुनः एकपटक सोही मन्त्रालयको पद तथा गोपनीयताको शपथ लिन लागेको स्रोत बताउँछ ।

त्यसैगरी यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, राप्रपाले तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ ।

नेपाल समाजवादी पार्टी भने पनि माओवादीले देवकोटालाई आफ्नो दलको ह्विप लाग्ने दाबी गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । तर, देवकोटा आफू नेसपाको सांसद रहेको र पार्टीकै निर्देशन अनुसार अगाडि बढेको बताएका छन् ।

गोरखा २ (क) बाट निर्वाचित देवकोटाले पाण्डेलाई विश्वासको मत दिएका थिए । उनलाई मुख्यमन्त्री पाण्डेले मंगलबार नै मन्त्रिपरिषदमा समेट्ने तयारी गरेका हुन् ।