स्वीजरल्याण्ड । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधवार भेटवार्ता भएको छ ।
स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताकारुपमा सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो ।
राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन र जलश्रोतको क्षेत्र मा लगानीका लागि आग्रह गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताउनुभएको थियो ।
“सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यस स्तरोन्नतिलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ, यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई ठूलो स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको छ”, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भ्रमण दलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्विस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्विस लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको बताउनुभएको पनि पोखरेलले जानकारी दिनुभयो ।
पौडेलले स्वीट्जरल्याण्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुक रहेको बताउँदै उहाँले यसले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अङ्गीकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि बताउनुभएको थियो ।
पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सङ्घीयता, संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन, तटस्थता आदि साझा मूल्य मान्यता तथा सिद्धान्तहरू रहेको र सहभागितामूलक लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक आर्थिक तथा पर्यावरणीय मुद्राहरूमा दुई देशबीच समान धारणा रहेको पनि उल्लेख गर्नुभएको थियो । उहाँले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक असर व्योहोरिरहेको बताउनुभएको थियो ।
सो अवसरमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको थियो । राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन र जलश्रोतको क्षेत्र मा लगानीका लागि आग्रह गर्नुभएको थियो । पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभएको थियो भने स्विस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउनु भएको जनाइएको छ ।
उहाँले नेपालको शान्ति प्रक्रिया र सत्य निरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको पनि जानकारी दिनुभएको थियो । त्यस्तै उहाँले तेन्जिगं नोर्गे शेर्पाका नातिले आफ्नो गृह नगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देशको भूगोलमा मात्र नभएर संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गर्नुभएको थियो । उहाँले नेपालको संविधानमा सङ्घीयता र समावेशीकरणको व्यवस्था गरेकोमा उच्च प्रशंसा गर्नुभएको थियो ।
उहाँले नेपालका विभिन्न आयोजनामा स्विस सरकारको लगानीले विशेष स्थान लिएको उल्लेख गर्दै दुई देशबीचको ठूलो स्तरको विकास साझेदारीले ६० वर्ष पुरा गरिसकेको र यो अझै अभिवृद्धि हुने विश्वास दिलाउनुभएको थियो ।