संसद्‌मा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरिएको छ ।

राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्

“प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दायर भएको छ,” शाहीले भने, “३० गते हाजिर हुन भनेर अदालतले भनेको छ । ३० गते प्रधानमन्त्री अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियतमा ? युद्ध अपराध देशले गरेको होइन व्यक्तिले गरेको हो । त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । उक्त पदमा बसिरहनु उचित हुँदैन ।”

शाहीको भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीविरुद्ध नियोजितरुपमा गैरराजनीतिक तरिकाले लागिरहेको भन्दै उक्त भनाई रेकर्डबाट हटाउन माग गरेका थिए ।