‘सुपर–८’ को बलियो सम्भावनाबीच दक्षिण अफ्रिकाविरुद्ध भिड्दै नेपाल

काठमाडौँ:  टी–२० विश्वकप क्रिकेटमा नेपाल शनिबार बिहान ‘सुपर आठ’ पुगिसकेको दक्षिण अफ्रिकासँग भिड्दै छ। प्रतियोगितामा समूह ‘डी’ मा रहेको नेपालले दुई खेल खेलिसकेको छ। दुवै खेलमा नतिजा निकाल्न नसकेको नेपाल एक हार र एक नतिजाविहीन अवस्थाबाट १ अङ्कका साथ तालिकाको चौंथो स्थानमा छ।

 

यद्यपि, दुई खेलपछि पनि नेपाल दक्षिण अफ्रिकापछि आफ्नै हातमा सुपर आठको सम्भावना रहेको टोली हो। यदि नेपालले बाँकी दुई खेल जित्ने हो भने ५ अङ्क बनाएर समूहमा दक्षिण अफ्रिकापछिको दोस्रो स्थानमा रहँदै ‘सुपर आठ’ मा पुग्नेछ। बाँकी टिम बाहिरिने छन्।

तर, पराजित भएको खण्डमा नेपाल बाहिरिने छ। वर्षाले प्रभावित बनाएर दक्षिण अफ्रिकासँग १ अङ्क लिएको खण्डमा भने अन्तिम खेलमा बंगलादेशमाथि फराकिलो जित निकाल्नु पर्ने चुनौती रहने छ। किनकि यस्तो अवस्थामा ४ अङ्क बनाउने टोलीबीच नेट रनरेटका आधारमा शीर्ष २ मा पुग्ने टोलीको छिनोफानो हुनेछ।

नेपालको सुपर आठको सम्भावना जिवित त छ तर निकै कठिन र चुनौतीपूर्ण छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित नेपालले दोस्रो खेलमा श्रीलंकासँग वर्षाका कारण अङ्क बाँड्यो। अब नेपालले अघिल्लो चरण प्रवेशका लागि बाँकी दुई टेस्ट टोलीको चुनौती पन्छाउनु पर्नेछ। अन्यथा बंगलादेश सुपर आठमा पुग्ने सर्वाधिक प्रवल दाबेदार टोली हो।

नेपालले शनिबार आफ्नो तेस्रो खेलमा जारी समूहमा एक मात्र अपराजित टोली दक्षिण अफ्रिकासँग विहान ५ः१५ मा प्रतिस्पर्धा गर्दै छ। नेपालका लागि यो खेलमा दक्षिण अफ्रिकालाई हराउनुबाहेकको विकल्प हुने छैन। त्यसैले नेपालका लागि यो खेलमा वर्षा वाधक बने प्रतियोगिताबाट बाहिरिने जोखिम बढ्ने छ।

नेपालले समूहमा आफ्नो अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्ने छ। यदि दक्षिण अफ्रिकालाई हराएर सनसनी मच्चाएमा नेपालका लागि निर्णायक खेल बन्नेछ बंगलादेशसँगको भिडन्त। तर, दक्षिण अफ्रिकासँग पराजित भएको खण्डमा भने नापलका लागि बंगलादेशसँगको खेल नेपालभन्दा बढी बंगलादेशका लागि महत्वपूर्ण हुनेछ।

अमेरिकाबाट नेपाली टोली क्यारेबियन भूमिमा पुगिसकेको छ। त्यहाँ अभ्यासमा सन्दीप लामिछाने जोडिएका छन्। कप्तान रोहित पौडेल सन्दीपको आगमनले टिम आत्माविश्वासी र स्पिन अट्याकमा बलियो भएको मान्छन्। उनी भन्छन्, ‘क्यारेबियन भूमिमा स्पिन बलरको भूमिका निकै महत्वपूर्ण छ। यस्तोमा सन्दीपको आगमनपछि हामी झनै बलियो भएका छौँ।’

जारी प्रतियोगितामा टसको समेत भूमिका महत्वपूर्ण रहँदै आएको छ। अधिकांश खेलमा पहिले टस जितेर फिल्डिङ गर्ने टोलीले नतिजा निकालिरहँदा शनिबार बिहान हुने टस नेपालका लागि समेत महत्वपूर्ण हुनेछ।

विश्व स्टार खेलाडीले भरिएको दक्षिण अफ्रिकाविरुद्ध नेपाल राम्रो प्रदर्शन मात्र होइन जित चाहन्छ। त्यसैले नेपालका लागि यो खेल ‘गर या मर’ का रुपमा रहेको छ।