images

रविकै नेतृत्वमा मिसन ०८४ ,संगठन नहुँदा इलाममा हार्‍यौं, संगठन आवश्यक भयो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महसुस गरेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए ।

‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौं’, उनले भने, ‘अब कार्यकर्ता नै चाहिँदैन, पिओरली मासबेस पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन । यसैले यी दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्नेछ ।’ उनले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गरे । उनले संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताए ।

‘संगठन चाहिँदो रहेछ भन्ने कुरा, काठमाडौंमा अलि सजिलो होला । तर अन्य जिल्लाहरुमा त्यो हामीले देखिसक्यौं’ उनले भने, ‘तनहुँमै देख्यौँ, अस्ती सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो ।’ उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए । उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताए ।

‘सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा वडामा साथीहरु नै भएनन्’ उनले भने, ‘मौन अवधिमा विज्ञप्ती निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरुले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरु चिर्न कार्यकर्ताहरु नै चाहिन्थ्यो । पातलो चुस्त संरचना हामीले कल्पना गर्नैपर्छ ।’

वाग्लेले भने, ‘अब तिमीहरुको रास्वपा पनि फुट्दैछ भन्नेहरुको कुरा सुन्दा हामी मुसुमुसु हाँस्छौं । रास्वपा के हो भन्ने बुझेकै छैनन् । हामी नीति र नेतृत्वमा प्रष्ट र एक ठाउँमा संगठित छौं । नेतृत्वमा हाम्रो संस्थापक सभापति रवि लामिछानेको विकल्प छैन र उहाँकै नेतृत्वमा मिसन ८४ सफल बनाउने हो । जलेश्वर बैठकपछि तपाईहरुले हेर्नु भएको छ, नीति र नेतृत्वको बारेमा हामीमा एकरुपता छ । उपसभापति वाग्लेले रास्वपा अहिले शासन सञ्चालन बुझ्ने क्रममा रहेको बताए । रास्वपा र यसको नेतृत्वलाई कमजोर पार्न तथा अफवाह फैलाउन पुराना पार्टीदेखि मिडियाको एउटा तत्का पुरै शक्ति लगाएर आइरहेको दावी समेत गरे ।