थारू भाषा जोगाउन साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले थारू भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन्।

थारू कल्याणकारी सभा केन्द्रीय समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उनले त्यसपछि राज्य र समाजको हुने बताइन्।

थारू जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उनले ती कुरा संरक्षण गर्नु आवश्यक रहेको बताइन्। मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुरामा एकरूपता ल्याउन मानक भाषा बनाउनैपर्ने बताइन्।

‘भाषा नरहेमा त्यो जातिको अन्य कुरा बिस्तारै हराउँदै जान्छन्। त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ’‚ मन्त्री चौधरीले भनिन्।

मन्त्री चौधरीले जन्मदेखि मृत्युपछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने बताइन्।

त्यस्तै उनले विभिन्न बहानामा थारूलाई फुटाउने कोसिस भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्।

‘हिजो राना थारू छुट्टिन खोज्दा नछुट्टिन आग्रह गर्‍यौँ तर उहाँहरू छुट्टिएर जानुभयो। अहिले खवास थारूले निवेदन दिएको कुरा आएको छ’, मन्त्री चौधरीले भनिन्, ‘यसरी त थारूको जनसङ्ख्या न्यून हुँदै जान्छ। जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो। यो सबैले बुझ्न आवश्यक छ।’