काठमाडौँ, २ असार : धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभाको सभापोखरी क्षेत्रलाई ग्रामीण पर्यटन क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
तीन दशकदेखि नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पवित्र धार्मिकस्थल सभापोखरीलाई ग्रामीण पर्यटनका रुपमा विकास गर्न लागेको हो । उक्त क्षेत्रको पर्यटन विकासका लागि भिटोफ नेपाल नेतृत्वको टोली गत जेठ ३१ देखि आजसम्म त्यहाँका पर्यटकीय सम्भाव्यता बारेमा अध्ययन गरेको भिटोफ नेपालका अध्यक्ष शकुन्तला देवकोटाले बताउनुभयो । उक्त टोलीमा अध्यक्ष देवकोटासहित पर्यटक विज्ञ डा आलोक प्रसाईं, मेधावी परामर्शदाता कम्पनीका प्रबन्ध निर्देशक उत्तम देवकोटालगायत सभापोखरी पुग्नुभएको थियो । भिटोफका अध्यक्ष देवकोटाले प्रत्येक वर्ष नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि भिटोफ नेपालले ‘गन्तव्य गाउँ घोषणा’ गर्दै आएका जनाउँदै यस वर्ष सङ्खुवासभाको सभापोखरीलाई गन्तव्य गाउँ घोषणा गर्न अध्ययन गरिएको बताउनुभयो । भिटोफले यसअघि नवलपरासीको अमलटारी, मकवानपुरको चित्लाङ, बाग्लुङको शिवधुरी, कास्कीको कालावाङ, रामेछापको शैलुङ, काभ्रेपलाञ्चोकको बेथानचोक, धादिङको रुविभ्यालीलगायत गाउँमा पर्यटन प्रवर्द्धन गरिसकेको छ । भिटोफले देशका ग्रामीण क्षेत्रमा भएका पर्यटकीय गाउँको भौगोलिक अवस्था, गाउँको अग्र्यानिक खाना, त्यहाँको धार्मिक अवस्था, संस्कृति आदानप्रदानलगायत काम गरिरहेको अध्यक्ष देवकोटाको भनाइ छ । सुरुमा पर्यटक गाउँको स्थलगत अध्ययन गरी सम्भावित ठाउँमा पर्यटन प्रवर्द्धन गर्दै आएको भिटोफले जनाएको छ ।
भिटोफले प्रत्येक वर्षको सेप्टेम्बर २७ मा ‘गन्तव्य गाउँ घोषणा’ गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरिरहेको छ ।