जल पर्यटनका लागि पनि उपयुक्त थलो बन्दै भरतपुर

 

उनीहरुको भनाइअनुसार नारायणी नदी किनारलाई भरतपुर महानगरपालिकाले ‘सिबीच मोडल’ मा विकास गरिरहेको छ। समुन्द्रिक किनारको झल्को दिने गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महानगरले केन्द्रको समन्वयमा बजेट ल्याएर विकासका पूर्वाधार धमाधम निर्माण गरिरहेको छ।

नारायणी नदीको पुलबाट उत्तरतर्फको भागलाई सरकारका तीन मन्त्रालयसँग महानगरपालिकाले सँगसँगै काम गरिरहेको छ। सोही किनारमा बनेको फुटपाथमा आज बिहान हिँडिरहेका सर्वसाधारणले पनि नदी किनारको विदेशको झल्को दिने गरी बनेकामा प्रशंसा गरिरहेका थिए। स्थानीय दियालो रोडका बटुकलाल श्रेष्ठले नदी किनारको विकास देखेर खुसी प्रकट गरिन्।

सँगै रहेकी विजया श्रेष्ठले भनिन्, “पहिला फोहर थियो, थाङ्नाथुङ्नी फालेको देखिन्थ्यो, अहिले कस्तो राम्रो भएको छ।” सर्लाहीका मनसारी विकलाई नारायणी किनार पहिलाको भन्दा अर्कै भएको महसुस भयो।

उनले भनिन्, “पहिले पनि आएको थिएँ, अहिले अचम्मै भएछ।” स्थानीय श्यामलाल श्रेष्ठले नदी किनार निकै राम्रो भएको भन्दै सवारीसाधन भने आउन दिन नहुने बताए। उनले भने, “नदी किनारले रुप फेरेको छ, यसलाई अझै राम्रो बनाउनु पर्छ।”

सो ठाउँमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम सम्पन्न गरेको छ। सो मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतका काम अन्तिम चरणमा पुर्‍याएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरेको छ।

नदीको सतहदेखि दुई दशमलव पाँच मिटर उचाइमा ११ खुट्किला निर्माण गरिएको छ। रु १५ करोड ९२ लाखमा सम्झौता भई काम सम्पन्न भएको छ।

खुट्किलाको सतह दुई मिटर चौडा छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा छन्। माथिल्लो तह चार दशमलव पाँच मिटर फराकिलो बनेको छ। फराकिलो ठाउँमा मानिस बेलुका र बिहान हिँडडुल गर्ने गरेका छन्।

सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिएको छ। पाँच मिटरको फरकमा बिरुवा लगाइएको छ। महानगरपालिकाका इञ्जीनीयर अस्मिता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ।

उनका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत दुई दशमलव चार किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने तीन पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेका छन्।

रु छ करोड ५० लाख बजेटमा सो काम भइरहेको छ। यो काम ९० प्रतिशत सकिएको उनको भनाइ छ। यसै ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ।

खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको दुई दशमलव पाँच किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ।

तटबन्ध बाहेक रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भएर काम भएको हो। नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिँदै छ। बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ। ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहने छन्।

नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गरिँदै छ। आरती क्षेत्र वरपर बत्ती राखिने छ। सघन सहरी तथा भवन निर्माण आयोजनाले झण्डै रु दुई करोडको लागतमा कामको तयारी गरेको छ। बोलपत्र आह्वान भइसकेकाले छिट्टै काम सुरु हुँदैछ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले विदेश जाँदा समुन्द्रिक किनारमा देखिएको सौन्दर्यकरणलाई मध्यनजर गर्दै यहाँ त्यही मोडेलमा विकास गरिएको बताइन्।

आफू पहिलो पटक प्रमुख भएकै समयदेखि यो काम अघि बढाइएको जनाउँदै उनले देख्ने गरी काम हुन थालेको बताइन्। नारायणी किनारलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्यकरण गरी पर्यटकको नयाँ गन्तव्यका रुपमा विकास गरिएको उनको भनाइ छ।

दाहालले भनिन्, “महानगरको गौरवको आयोजनाका रुपमा लिएर यसलाई गुरुयोजना बनाइ काम गरिरहेका छौंं।” यसलाई अझै व्यवस्थित बनाउने गरी काम हुने उनको भनाइ छ।

आउँदा दिनमा गुरुयोजनाअनुसारको काम सम्पन्न हुँदै गर्दा नदी किनार थप आकर्षक बन्ने उनले जानकारी दिइन्। आजभोलि बिहानबेलुका नदी किनारमा स्थानीयको निकै भीड हुने गरेको छ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र समुन्द्रिक किनार हुने जनाउँदै नारायणी नदीलाई उपयोग गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको बताए। उनले भने, “चितवन अब पर्यापर्यटन मात्रै होइन, जल पर्यटनका लागि पनि उपयुक्त थलो बन्दै छ।”रासस