images
images

डिजिटल बैंकिङ प्रयोग गर्दा सचेत रहन अनुरोध:राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्दा सचेत रहन अनुरोध गरेको छ । एक सूचना निकाल्दै बैंकले पछिल्लाे समय अनधिकृत व्यक्तिले बैंककाे कर्मचारी हुँ भन्दै ग्राहकहरूबाट ओटीपी कोड मागेकाे पाइएकाले सतर्क रहन अनुरोध गरेको हाे ।

“विगत केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको बहाना बनाउँदै ग्राहकहरूलाई बैंकको केवाईसी अपडेट गर्नुपर्ने देखिएकाले सोका लागि सम्बन्धित ग्राहकलाई मोबाइलमा आएको ६ अङ्कको नम्बर (OTP) उपलब्ध गराइदिन अनुरोध गर्ने गरेको पाइएको छ,” सूचनामा लेखिएको छ, “उक्त ओटीटी प्राप्त भएपछि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, आईपीएस र वालेटजस्ता उपकरणको पासवर्ड रिसेट गरी अकाउन्ट एक्सेस गर्ने र ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटमा रकमान्तर गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको पाइएको छ ।”

बैंकले ईमेल वा फोनमार्फत ग्राहकको ओटीपी/पासवर्ड वा अन्य गोप्य राख्नुपर्ने जानकारी कहिले पनि नसोध्ने भएकोले यस प्रकारका कल तथा ईमेलबाट सचेत रहन बैंकले सुझाव दिएको छ ।

त्यस्तै आफ्नो मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, वालेटको पासवर्ड पिन तथा ओटीपी जस्ता विवरण गोप्य राख्नसमेत अनुरोध गरिएको छ ।